ताप्लेजुङमा एक पुरुष मृत अवस्थामा फेला
ताप्लेजुङ । ताप्लेजुङमा एक पुरुष मृत अवस्थामा फेला परेको छ।
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–१ निवासी करिब ४० वर्षीय यमराज लिम्बू हाल फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रोपावर कम्पनीमा कार्यरत रहेका थिए। उनी मिति २०८२ पुस १० गते घर जान भन्दै हिँडेपछि सम्पर्कविहीन भएका थिए।
परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि खोजी कार्य तीव्र पारिएको थियो। यसैक्रममा मिति २०८२ पुस १५ गते फक्ताङलुङ गाउँपालिका–२ मेचेन खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
शव नाम, थर र वतन नखुलेको अवस्थामा, कालो जिन्स पाइन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नभएको अवस्थामा भेटिएको थियो। प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा मृतकको बायाँ हातमा ‘ओम’ लेखिएको ट्याटुका आधारमा उक्त शव यमराज लिम्बूकै भएको पुष्टि भएको जनाएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको छ भने थप अनुसन्धान भइरहेको जनाएको छ।


