उदयपुरमा नागरिक सुनुवाइ तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
उदयपुर । उदयपुरमा नागरिक सुनुवाइ कार्यक्रम तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा बेलका नगरपालिका वडा नं. ८ कोठुस्थितमा नागरिक सुनुवाइ कार्यक्रम तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेय, जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँ लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय बासिन्दा समेत गरी करिब ७० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय स्तरमा शान्ति–सुरक्षा सुदृढीकरण, लागू औषध दुर्व्यसन नियन्त्रण तथा समाजमा देखिएका विभिन्न समस्या सम्बन्धमा सहभागीहरूबाट जिज्ञासा, गुनासा तथा सुझावहरू राखिएका थिए।
नागरिक र सुरक्षा निकायबीच आपसी सहकार्य अभिवृद्धि गर्ने, लागू औषध दुर्व्यसनबाट समाजलाई जोगाउन जनचेतना अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमा देखिएका समस्या समाधानका उपायहरू पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले सहजीकरण गर्नुभएको थियो।


