दिल्लीतर्फ लैजाँदै गरेको अबस्थामा ४ किलो अफिमसँगै २ नेपाली पक्राउ
सन्जय मिश्रा, रौतहट, । बाराजिल्लाको नाका संग जोडिएको भारत–नेपाल सीमाक्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त सक्रियताले पछिल्लो समय लागूऔषध तस्करी, पशु ओसारपसार तथा मल तस्करीविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ।
फरक–फरक अपरेशनमार्फत अफिम बोकेका एक नेपालीसहित दुईजना पक्राउ परेका छन् भने १५ थान गाई बाछो र युरिया मल बरामद गरिएको जनाएको छ ।
एसएसबीको ७१औँ बटालियनबाट प्राप्त गोप्य सूचनाका आधारमा बिहार प्रहरीसँग संयुक्त रूपमा गरिएको कारबाहीमा ४ किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पर्सा निवासी ५७ वर्षीय चन्देश्वर महतो कोइरी र भारत पश्चिम चम्पारणका ६६ वर्षीय झग्गु महतो रहेको
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन ।
तिवारीका अनुसार उनीहरूको शरीर तलासीका क्रममा ४ वटा प्याकेटमा लुकाइ राखिएको अवस्थामा अफिम बरामद गरिएको हो।
साथै उनीहरूबाट ३ थान मोबाइल फोनसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त अफिम मोतीहारीबाट दिल्ली पुर्याउने योजना रहेको खुलासा भएको छ।
दुवै आरोपीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि बिहार प्रहरीको पिपरा कोठी चौकीमा बुझाइएको छ।
यसैबीच, अर्को अपरेशनमा एसएसबी टोलीले बिहिवार बिहान करिब २ बजे सीमाक्षेत्रबाट १५ वटा गाई बाछो नियन्त्रणमा लिएको छ।
बारा जिल्लासँग जोडिएको इनरवा (लरहटोला) क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका ५ वटा गाई र १० वटा बाछो बरामद गरिएको हो।
एसएसबी प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद पशुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाईएको छ ।
यसैक्रममा आजै बिहान करिब ६:१५ बजे इन्टेलिजेन्स सूचनाका आधारमा एसएसबी ७१औँ बटालियन अन्तर्गत बिओपी बरहरवा टोलीले विशेष गस्ती सञ्चालन गर्दा ठूलो परिमाणमा युरिया मल बरामद गरेको छ।
सीमा स्तम्भ नम्बर ३६०/०५ नजिक भारततर्फ पर्ने रेगनिया गाउँ आसपासबाट नेपालतर्फ तस्करी गरिँदै गरेको अवस्थामा ४५–४५ केजीका २८ बोरा युरिया मल फेला परेको हो। घटनास्थलबाट कोही पनि पक्राउ पर्न नसकेको र तस्करहरू सामान छोडेर फरार भएको अनुमान गरिएको छ।
बरामद मल आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाहीका लागि मोतीहारी भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमा क्षेत्रमा पछिल्लो समय लागूऔषध, पशु तथा मल तस्करीका घटनाहरू बढ्दै गएपछि सुरक्षा निकायले निगरानी अझ कडा बनाएको जनाएको छ।
निरन्तरका यस्ता अपरेशनले अवैध गतिविधिमा संलग्न समूहहरूलाई चुनौती थपिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।


