मधेश प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरी बने रौतहटका इन्स्पेक्टर मगर
सञ्जय मिश्रा/रौतहट, ९ बैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख राजेन्द्र थापा मगर मधेश प्रदेशभरि नै चैत्र महिनाको “बेष्ट ट्राफिक पुलिस अफ मन्थ’ घोषित भएका छन्।
कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई प्रदेशका ८ वटै जिल्लामध्ये उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा छनोट गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले सोमवार आयोजना गरेको एक कार्यक्रममा मगरलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
इन्स्पेक्टर मगरले आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ठ, अनुशासित र लगनशील रूपमा निर्वाह गर्दै ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रभावकारी कारबाही गरेका छन्। साथै, उनले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रपुर–गौर सडक खण्डमा सचेतना अभियान सञ्चालन गर्नुका साथै बढी दुर्घटना हुने स्थानहरूको पहिचान गरी स्पिड ब्रेकर, रिफ्लेक्टर जडानजस्ता कार्यमार्फत सवारी दुर्घटना न्यूनीकरणमा उनले उल्लेखनीय योगदान दिएका छन्।
उनको उत्कृष्ट कार्यसम्पादनले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम उनलाई रु १ हजार नगद पुरस्कारसहित उक्त अवार्डद्वारा सम्मान गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानन्द्र बहादुर बस्नेतले मगरको कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गरेका छन्। एसपी बस्नेत द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।


