लजमा छापा : ३० हजार ट्रमाडोल सहित भारतीय नागरिक पक्राउ
सञ्जय मिश्रा/बैशाख, १० रौतहट। वीरगञ्ज स्थित प्रहरी टोलीले एक होटल तथा लजमा छापामारी गरी ठूलो परिमाणमा प्रतिबन्धित नशालु ट्याबलेटसहित एकजना भारतीय नागरिक पक्राउ गरेको सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला भेलाही गाउँ बस्ने २० वर्षीय सागर कुमार पटेल रहेका छन्। उनको साथबाट ३० हजार चक्की प्रतिबन्धित लागुऔषध नशालु ट्रमाडोल ट्याबलेट बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी बहादुर बस्नेतले जानकारी दिएका हुन्।
विशेष सूचनाको आधारमा गत आईतवार राति करिब १० बजे वीरगञ्जको लिंक रोडस्थित समर होटल एण्ड लजमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले होटलको कोठा नम्बर १०५ मा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा भारतको बिहार राज्य मोतिहारी जिल्ला भेलाही गाउँ बस्ने २० वर्षीय सागर कुमार पटेललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड नामक प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ। १ पत्तामा १० ट्याब्लेटका दरले ३ हजार पत्ता अर्थात् जम्मा ३० हजार ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी हरी बहादुर बस्नेतले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक गरेका छन्।


