जन्मदिनमा वृक्षारोपण :सांसद पौडेललाई बधाई, पत्रकार मिश्रालाई शुभकामना
रौतहट, २० वैशाख । “जन्मदिनलाई सत्कर्मसँग जोडौं” अभियानले रौतहटमा अर्थपूर्ण सन्देश दिएको छ। यही अभियानअन्तर्गत वरिष्ठ पत्रकार सञ्जय मिश्राले चन्द्रपुर–९ सिन्दुरेघारीस्थित चाँदनी जन्मोत्सव पार्कमा वृक्षारोपण गर्दै आफ्नो जन्मदिन उदाहरणीय ढंगले मनाएका छन्।
वरिष्ठ पत्रकार गोविन्द चौलागाईंको अवधारणामा निर्माणाधीन उक्त पार्कमा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ४ का संघीय सांसद गणेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा मिश्राले रोपेको एक बिरुवाले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका क्रममा जन्मोत्सव पार्क संरक्षण समितिले सांसद पौडेललाई बधाई ज्ञापन गर्दै स्थानीय नागरिकका विभिन्न समस्या समेटिएको २२ बुँदे ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेको थियो।
यसैबीच, सिन्दुरेघारीका पूर्व प्रधानाध्यापक सत्रुधन प्रसाद साहलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। साथै, पार्क निर्माण तथा संरक्षणमा सहयोग पुर्याउने प्रलाद विश्वकर्मा, महेन्द्र गौतम, हिरामणी सुवेदी, केशव खतिवडा, गायत्री भारतीलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संरक्षण समितिका सचिव राजु बिष्टले स्वागत मन्तव्य राखेका थिए। सूर्यबहादुर थापा, बिकु लामा, प्रधानाध्यापक शम्भु हुमागाईं, समाजसेवी अरुण लामा, संयोजक श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा अध्यक्षता समितिका उपाध्यक्ष ज्ञानबहादुर भट्टले गरेका थिए भने सञ्चालन प्रराज चौलागाईंले गरेका थिए।
कटहरियादेखि सिन्दुरेघारी पुगेर वृक्षारोपणमार्फत जन्मदिन मनाएका पत्रकार मिश्रालाई सहभागीहरूले शुभकामना व्यक्त गरेका थिए। छोटो समयमै आयोजना गरिएको कार्यक्रममा सहभागी सबैप्रति आयोजकले आभार प्रकट गरेका छन्।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईले सुरु गरेको “जन्मदिनलाई सत्कर्मबाट जोडौं” अभियान छोटो समयमै देशव्यापी बनेको बताएका छन्। उनका अनुसार नेता, कलाकार, राष्ट्रसेवक कर्मचारीदेखि सुरक्षा निकायका उच्च अधिकारीसम्मले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा वृक्षारोपण गर्दै जन्मदिन मनाउन थालेका छन्।
“जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो एउटा बिरुवा रोप्दा भविष्यका पुस्ताका लागि अक्सिजनको व्यवस्था हुन्छ,” चौलागाईले भने। उनका अनुसार यही सोचलाई व्यवहारमा उतार्दै पार्कभित्र विभिन्न संरचना निर्माणका कामहरू केन्द्र र प्रदेश सरकारको सहयोगमा तीव्र गतिमा अघि बढिरहेका छन्।
अभियानप्रति ऐक्यबद्धता जनाउँदै आयोजकले सबैलाई आफ्नो जन्मदिनमा कम्तीमा एक बिरुवा रोपेर समाजप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।


