झापामा एक वृद्ध मृत अवस्थामा फेला
झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धापस्थित कोचाटोलीमा आज एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। स्थानीय ७९ वर्षीय मानबहादुर लावती आज बिहान करिब ६ बजे घर पछाडिको खोल्सा (बहिनी) मा मृत भेटिएका हुन्।
पारिवारिक स्रोतका अनुसार उनी हिजो बेलुकादेखि नै घरबाट बेपत्ता भएका थिए र रातभर खोजी गर्दा पनि फेला परेका थिएनन्। खोजी कार्य जारी रहँदा आज बिहान मात्र उनको शव घर नजिकै फेला परेको हो।
मृतक लावती छोरी–ज्वाइँको घरमा बस्दै आएका थिए। घटना भएको समयमा उनका छोरी र ज्वाइँ कामको सिलसिलामा घर बाहिर रहेको र घरमा बाजे र नातिनी मात्र रहेको स्थानीयले बताएका छन्।
घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी चौकी गोल्धापको टोली, वडा अध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए।
प्रहरीले मृतकको शव परीक्षणका लागि लैजाने तयारी गर्दै घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।


