धरानको एक होटलमा छापा, तीन जना पक्राउ
सुनसरी । सुनसरीको धरानमा ब्राउन सुगर (खैरो हेरोइन) कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर तीन जना युवालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान तथा वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शुक्रबार राति धरान–९ बगैँचा लाइनस्थित रत्न इन होटलमा छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीनगर–४ बांसखर्कका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोकका २२ वर्षीय समीर दियाली र झापाको बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । प्रहरीका अनुसार उनीहरू हाल काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए ।
प्रहरीले होटलको कोठा नम्बर ७ मा खानतलासी गर्दा ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । साथै, लागुऔषध कारोबारमा प्रयोग भएको आशंकामा दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरू बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका रहेका छन् ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा धरान क्षेत्रमा लागुऔषध कारोबार बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको छ ।


