सुनसरीको धरानमा छुरा प्रहार घटनामा एक युवकको मृत्यु
धरान । सुनसरीको धरानमा आइतबार दिउँसो भएको छुरा प्रहार घटनामा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। स्थानीय युवाबीच भएको विवादका क्रममा उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले छुरा प्रहारबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको जानकारी दिए। घाइते भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको थियो।
उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा रहेको खुलेको प्रहरीले जनाएको छ। घटना लगत्तै फरार रहेका उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीको भनाइ छ।


