धादिङमा दुई बस र एक ट्रक ठोक्किँदा ३७ यात्रु घाइते, तीन चालक प्रहरी नियन्त्रणमा
काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन्।
गएराति करिब ११:३० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१-००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
घाइतेमध्ये तीन जना डिस्चार्ज भएका छन् । बाँकी ३४ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १९ र टिचिङ अस्पताल महारजन्जमा नौजनाको उपचार जारी छ । अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए। दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्।


