रक्ताम्मे अवस्थामा युवक मृत फेला
सञ्जय मिश्रा/रौतहट, ३१ वैशाख । पूर्व पश्चिम लोकमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित चाँदी पुल नजिक बिहीबार बिहान एक युवक रक्ताम्मे अवस्थामा मृत फेला परेका छन्। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
मृतक माधव नारायण नगरपालिका–१ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालका अनुसार बिहान करिब साढे ६ बजे सडक छेउमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ। मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले दुर्घटना, कुटपिट वा अन्य कुनै आपराधिक कारण हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले जनाएको छ।


