सिडियो भुषालको चेतावनी, `कृतिम रूपमा मल अभाव गरे कारबाही´
सञ्जय मिश्रा/चन्द्रपुर, ३१ वैशाख । रौतहटका सिडियो दिनेश सागर भुसाल ले रौतहटमा रासायनिक मलको कुनै अभाव नरहेको स्पष्ट पार्दै कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
बिहीबार गुजरा नगरपालिकाको सभाकक्षमा आयोजित नागरिकसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सिडियो भुसालले साल्ट ट्रेडिङ गौर र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरबाट जिल्लामा नियमित रूपमा मल वितरण भइरहेको जानकारी आफूले पाएको बताएका छन्। उहाँले मल वितरणलाई पारदर्शी बनाउन तथा नियमित अनुगमन गर्न स्थानीय तहका उपप्रमुखहरूलाई आग्रह समेत गरेका छन्।
कार्यक्रममा सिडियो भुसालले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रको सेवा सहज रूपमा प्रवाह भइरहेको जानकारी दिए । अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घर–घरमा पुर्याउने तयारी भइरहेको समेत उनले बताए।
उनले मिटर ब्याजी समस्याको समाधान प्याकेजमै भइरहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासीको व्यवस्थापनमा सरकार गम्भीर रहेको धारणा राखेका थिए। साथै रौतहटमा सरकारी जग्गा अतिक्रमण हटाउने तयारी भइरहेको र त्यसका लागि स्थानीय तहसँग तथ्यांक संकलनको काम अघि बढाइएको जानकारी दिएका छन्।
बाढी तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी भइरहेको उल्लेख गर्दै सिडियो भुसालले मनसुनजन्य जोखिम न्यूनीकरणमा प्रशासन सक्रिय रहेको बताए ।
त्यसैगरी रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल ले समाजमा बालविवाह, बहुविवाह र भागी विवाह जटिल सामाजिक समस्याका रूपमा बढ्दै गएको बताएका छन्।
उनले जातीय विभेद, बोक्सी आरोप, साइबर अपराध, मिटर ब्याजी, चेक बाउन्स तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि समाजलाई थप सचेत बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा गुजरा नगरपालिकाका मेयर शन्तलाल चौधरी ले जनताको काम छिटो, सहज र प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिनुभएका छन्। उनले नगर क्षेत्रका विभिन्न समस्या तथा विकासका विषयमा समेत धारणा राखेका थिए।
मेयर चौधरीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधव शर्मा, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएस्पी रुपा लाबुङ, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, महिला तथा बालबालिका सेवा केन्द्र गरुडा की प्रमुख सई दीपिका ओझा, इन्सेकको जिल्ला प्रतिनिधि गौरी न्यौपाने,वडाध्यक्षहरू, जनप्रतिनिधि तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।


