झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ
झापा । झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ सिटी सफारीमार्फत आउँदै गरेका भारतको पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटमा शंका लागेर गरिएको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पाठकको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ मूल्य बराबरको ५७० ग्राम सुन तथा ३० लाख ६५ हजार रुपैयाँ बराबरको २० हजार अमेरिकी डलर बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


