मान्द्रे भीरबाट मोटरसाइकल खस्दा पाँचथरका युवकको मृत्यु
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ स्थित मान्द्रे भीरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा फिदिम–८ का ३३ वर्षीय दीपेन गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार गुरुङ बुधबार साँझ इथुङबाट घुमाउनेटारस्थित घर फर्किने क्रममा नम्बर नखुलेको ‘अनटेस्ट’ रोयल इन्फिल्ड बुलेट मोटरसाइकल चलाउँदै थिए। सोही क्रममा मोटरसाइकलसहित मान्द्रे भीरबाट खसेर दुर्घटना भएको हो।
भीरबाट खसेका गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उद्धार टोलीले उनको शव निकालेर राति करिब १ बजे पाँचथर अस्पताल ल्याएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिषकुमार कर्णका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकल भने अझै भीरबाट निकाल्न सकिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


