उर्लाबारीमा फेला परेकी बालिका मानव सेवा आश्रम दमकमा राखियो
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेण्ड क्षेत्रमा फेला परेकी एक बालिकालाई संरक्षणका लागि मानव सेवा आश्रम, दमकमा राखिएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार आइतबार बेलुकी अन्दाजी १६/१७ वर्षीया बालिका फेला परेकी हुन्। उनले आफ्नो नाम रिया गुरुङ तथा घर धरान भएको बताएकी छन्।
प्रहरीका अनुसार बालिका कुनै नशालु पदार्थ सेवन गरेको जस्तो देखिने र स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थामा थिइन्। स्थानीयवासीको सूचनापछि प्रहरी टोलीले उनको उद्धार गरेको थियो।
उद्धारपछि आवश्यक संरक्षण, हेरचाह तथा सुरक्षाका लागि बालिकालाई मानव सेवा आश्रम, दमकमा राखिएको प्रहरीले जनाएको छ। हाल उनको परिवार तथा आफन्तको खोजी कार्य जारी रहेको छ।
उक्त बालिकालाई चिन्ने वा उनका परिवारजनबारे जानकारी हुने व्यक्तिहरूलाई सम्बन्धित परिवारसम्म सूचना पुर्याइ सहयोग गर्न तथा थप जानकारीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको फोन नम्बर ९८५२०९०१३६ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले बालिकाको पहिचान खुलाउने र परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको जनाएको छ।


