लेटाङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, अर्की घाइते
मोरङ । मोरङको लेटाङ नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब ९ः३० बजे लेटाङबाट धोबीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिएको थियो।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।
दुर्घटनामा लेटाङ नगरपालिका–२ धोबी निवासी ३६ वर्षीया कञ्चन राई गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थानकी ३५ वर्षीया सुचन राईको हात र खुट्टामा चोट लागेको छ। उनको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक इलाम नगरपालिका–२ घर भई हाल लेटाङ–२ धोबी बस्दै आएका २६ वर्षीय सुशील मगर तथा मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


