मोरङको उर्लाबारीमा बेवारिसे अवस्थामा फेला परेकी महिला श्रीमानसँग पुनर्मिलन
उर्लाबारी — मोरङको उर्लाबारी नगरपालिका–७ बाट बेवारिसे अवस्थामा फेला परेकी एक महिलालाई प्रहरीले उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार २०८३ जेठ २५ गते आफ्नो परिचय खुलाउन नसक्ने अवस्थामा फेला परेकी महिलालाई प्रहरीले उद्धार गरी संरक्षणमा राखेको थियो। त्यसपछि प्रहरीले उनको पहिचान खुलाउन खोज तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा ती महिला मोरङको पथरीशनिश्चरे नगरपालिका–१० त्रिवेणीचोक निवासी ३१ वर्षीया संगिता गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ। साथै उनी सुमन पौडेलकी श्रीमती रहेको पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो।
इलाका प्रहरी कार्यालय उर्लाबारीले जेठ २६ गते संगिता गुरुङलाई उनका श्रीमान् सुमन पौडेलको जिम्मा लगाएको जनाएको छ। प्रहरी टोलीको रोहबरमा दम्पतीबीच सुखद पुनर्मिलन गराई महिलालाई परिवारको साथमा पठाइएको प्रहरीले जानकारी दिएको छ।


