इलामको देउमाईमा ट्याक्सी दुर्घटना, तीन जना घाइते
इलाम, जेठ २९ । इलामको देउमाई नगरपालिका–८ रत्नचोक (चौतारो नजिक) क्षेत्रमा शुक्रबार ट्याक्सी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मङलबारेबाट झापातर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको ट्याक्सी गाग्रे भञ्ज्याङ–जितपुर–सोयाक–बेलासे सडक खण्डमा दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्याक्सी सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
ट्याक्सीमा चालकसहित तीन जना मात्रै सवार रहेको र दुर्घटनामा परेका सबै घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी थप उपचारका लागि झापा पठाइएको छ।
घाइते हुनेहरूमा देउमाई नगरपालिका–५ क्याबुङ निवासी ६० वर्षीय प्रेममणि आचार्य, ६८ वर्षीया कोकिला दवाडी तथा मङलबारे निवासी ३६ वर्षीय चालक उत्तम खड्का रहेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


