झापाबाट होटलमा धारिलो हतियार देखाएर आतंक मच्चाएको आरोपमा निर्वाचन कार्यालयका दुई कर्मचारी पक्राउ
झापा । झापाको भद्रपुरस्थित एक होटलमा धारिलो हतियार देखाउँदै आतंक मच्चाएको आरोपमा जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ भद्रपुर नगरपालिका–८ स्थित उल्लास होटलमा केही व्यक्तिले खुकुरी र चक्कुजस्ता धारिलो हतियार प्रदर्शन गर्दै होहल्ला तथा आतंक सिर्जना गरेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो। प्रहरी घटनास्थल पुग्नुअघि नै आरोपितहरू फरार भएका थिए।
प्रहरीले अनुसन्धानका क्रममा जिल्ला निर्वाचन कार्यालय झापाअगाडिबाट दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० निवासी ३६ वर्षीय कविराज गुरागाईं र बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय पराजय चौधरी रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत कर्मचारी हुन्। घटनामा प्रयोग गरिएको धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


