पातमा सपनाको चित्र कोर्दै माेरङका गौरव ढुङ्गाना

तेजन खडका/मोरङ, २ असार ।  कतिपय युवाहरू आफ्नो रुचिलाई समयको अभाव, आर्थिक चुनौती वा अवसरको कमीका कारण बीचमै छाड्न बाध्य हुन्छन्।

 

तर उर्लाबारी–८ का युवा कलाकार गौरव ढुङ्गानाले भने आफ्नो रुचिलाई निरन्तर मेहनत, धैर्य र समर्पणका साथ अघि बढाउँदै विशिष्ट पहिचान बनाउन सफल हुँदैछन्। पिपलको पात र कागजमा जीवन्त तस्बिर कोर्ने उनको कला यतिबेला स्थानीयदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेको छ।

विगत सात वर्षदेखि चित्रकला र विशेषगरी ‘लिफ आर्ट’मा सक्रिय गौरवले पातलाई प्राकृतिक वस्तुका रूपमा मात्र होइन, सिर्जनाको क्यानभासका रूपमा प्रयोग गर्दै आएका छन्। उनले पिपलको पातमा चर्चित व्यक्तित्व, खेलाडी, कलाकार तथा विभिन्न प्रेरणादायी व्यक्तिहरूको अनुहार उतार्ने काम गर्दै आएका छन्। उनको कलाले दर्शकलाई पहिलो नजरमै आकर्षित गर्ने क्षमता राख्छ।

गौरवका अनुसार चित्रकलाप्रतिको मोह बाल्यकालदेखि नै थियो। विद्यालयमा अध्ययनरत रहँदादेखि नै उनी खाली समयमा चित्र बनाउने गर्थे। साथीहरू खेल्न जाँदा उनी भने कागजमा केही न केही कोरिरहन्थे। समयसँगै त्यो रुचि कला प्रतिको समर्पणमा परिणत भयो।

“सानैदेखि चित्र बनाउन मन पर्थ्यो। सुरुमा सामान्य स्केचहरू बनाउँथेँ। पछि सामाजिक सञ्जालमा विभिन्न कलाकारका कामहरू हेर्दै जाँदा पातमा चित्र बनाउने कला सिक्ने इच्छा जाग्यो। त्यसपछि अभ्यास गर्दै जाँदा आजको अवस्थासम्म आइपुगेको हुँ,” गौरव भन्छन्।

उनका अनुसार लिफ आर्ट बनाउन निकै धैर्यता आवश्यक हुन्छ। सामान्य कागजमा चित्र बनाउनुभन्दा पातमा चित्र बनाउनु धेरै चुनौतीपूर्ण हुन्छ। पात च्यातिन सक्ने, सानो गल्तीले सम्पूर्ण काम बिग्रिन सक्ने भएकाले प्रत्येक रेखामा सावधानी अपनाउनु पर्छ।

“एउटा पातमा चित्र बनाउन कहिलेकाहीँ धेरै घण्टा लाग्छ। धैर्य नगरी यो काम सम्भव हुँदैन। तर अन्तिम परिणाम राम्रो आउँदा सबै दुःख बिर्सिन्छु,” उनले भने।

हाल गौरव अध्ययनलाई निरन्तरता दिँदै कला क्षेत्रमा पनि सक्रिय छन्। उनी पढाइ र कलालाई समान प्राथमिकता दिन्छन्। उनका अनुसार शिक्षा र सिर्जनशीलता दुवै जीवनका महत्वपूर्ण पक्ष हुन्। त्यसैले भविष्यमा पनि अध्ययनसँगै आफ्नो कलायात्रालाई अगाडि बढाउने योजना रहेको छ।

 

पछिल्लो समय उनको कामको चर्चा बढ्दै गएपछि विभिन्न व्यक्तिहरूले कमिसनमा समेत चित्र बनाउन आग्रह गर्न थालेका छन्। सामाजिक सञ्जालमार्फत आउने अर्डरहरूले उनको आत्मविश्वास बढाएको छ। यसले उनको सीपलाई व्यावसायिक रूपमा समेत अघि बढाउने सम्भावना देखाएको छ।

गौरव भन्छन्, “मानिसहरूले मेरो काम मन पराएर अर्डर दिनु नै ठूलो उपलब्धि हो। यसले अझ राम्रो काम गर्न प्रेरणा मिल्छ। भविष्यमा यही क्षेत्रलाई पेशाको रूपमा विकास गर्ने सोच छ।”

उनको कलात्मक यात्रामा परिवारको भूमिका पनि महत्वपूर्ण रहेको छ। विशेषगरी दिदी गरिमा ढुङ्गानाले भाइको सफलतामा गर्व महसुस गर्ने बताउँछिन्। सुरुका दिनहरूमा भाइले पातमा घण्टौँ समय बिताउँदा के गरिरहेको होला भन्ने लाग्थ्यो। तर विस्तारै उनले बनाएका कलाकृतिहरू देख्दै जाँदा गौरवको प्रतिभा बुझ्न सकिएको गरिमाको भनाइ छ।

 

“सुरुमा त के गरेको होला, काम पाएनछ जस्तो लाग्थ्यो। तर विस्तारै बुझ्दै जाँदा उसले निकै राम्रो काम गरिरहेको रहेछ भन्ने महसुस भयो,” गरिमा भन्छिन्, “आजकल सामाजिक सञ्जालमा वा बाहिर मानिसहरूले भाइको तारिफ गरेको सुन्दा धेरै खुसी लाग्छ। उसको मेहनतको सम्मान भएको देख्दा गर्व महसुस हुन्छ।”

परिवारबाट प्राप्त यस्तै साथ र हौसलाले आफूलाई निरन्तर अगाडि बढ्न ऊर्जा दिएको गौरव बताउँछन्। उनका अनुसार कुनै पनि कलाकारका लागि परिवारको विश्वास र साथ सबैभन्दा ठूलो प्रेरणा हो।

हाल विश्वभर चर्चा भइरहेको फिफा विश्वकप २०२६ को माहोलले पनि गौरवको कलामा नयाँ रंग भरेको छ। उनले विश्व फुटबलका चर्चित खेलाडीहरूको लिफ आर्ट तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। विशेषगरी मेस्सी, रोनाल्डो, नेयमारलगायत खेलाडीका पातमा कोरिएका तस्बिरहरूले दर्शकको ध्यान खिचेका छन्।

उनका यी कलाकृतिहरू सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्। धेरैले उनको मेहनत, सूक्ष्मता र सिर्जनात्मक क्षमताको प्रशंसा गरेका छन्। विश्वकपको उत्साहलाई कलामार्फत अभिव्यक्त गर्ने उनको प्रयासलाई कला प्रेमीहरूले सकारात्मक रूपमा लिएका छन्।

स्थानीय स्तरमा मात्र सीमित नरही राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउने लक्ष्य राखेका गौरव नेपाली कलाक्षेत्रमा नयाँ सम्भावनाको प्रतिनिधित्व गर्छन्। डिजिटल युगमा अधिकांश युवा मोबाइल र सामाजिक सञ्जालमा व्यस्त भइरहेका बेला उनले भने आफ्नो समय सिर्जनात्मक कार्यमा लगानी गरेका छन्। यही कारण उनी धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।

उनको विश्वास छ- प्रतिभा जन्मजात हुन सक्छ, तर त्यसलाई सफलतामा रूपान्तरण गर्न निरन्तर अभ्यास आवश्यक हुन्छ। “प्रतिभा मात्र भएर पुग्दैन। मेहनत, धैर्य र निरन्तरता चाहिन्छ। मैले पनि सिक्दै र सुधार गर्दै अगाडि बढिरहेको छु,” उनी भन्छन्।

 

उर्लाबारीको एउटा सामान्य घरबाट सुरु भएको गौरव ढुङ्गानाको कलायात्रा अहिले धेरैका लागि प्रेरणा बनेको छ।

पिपलको साधारण पातमा असाधारण चित्र कोर्ने उनको कला सिर्जना मात्र होइन, सपनालाई आकार दिने माध्यम पनि बनेको छ। निरन्तर मेहनत र सिर्जनशीलताको यही यात्रा कायम रहिरहे, भविष्यमा गौरव नेपाली कलाक्षेत्रको एक चिनिने नाम बन्नेमा दुई मत देखिँदैन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖