खुकुरी देखाएर युवतीमाथि कुटपिटको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ
दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार साँझ आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०:४० बजे उनको घरमा छापा मारी पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट लागुऔषधजन्य ट्याब्लेटहरू बरामद गरेको जनाएको छ। बरामद गरिएका औषधिमा Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट तथा Nitrazohm ५ ट्याब्लेट रहेका छन्।
यसै प्रकरणमा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


