दमकमा टिफरले स्कुटरलाई ठक्कर दिंदा कार्कीको मृत्यु, टिफर चालक पक्राउ
झापा । झापाको दमकमा टिफरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि महेन्द्र राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिफरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार गौरीगन्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न टिफर र चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


