उदयपुरमा खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
बुधबार साँझ चौदण्डीगढी नगरपालिका–९ देवधारकी १४ वर्षीया आयुशा सदाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आयुशा साथीहरूसँग पौडी खेल्न चौदण्डीगढी नगरपालिका–१० स्थित खोलाको दहमा गएकी थिइन्। साँझ करिब ५ बजे पौडी खेल्ने क्रममा उनी अचानक डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले खोजी कार्य सञ्चालन गरेको थियो। खोजतलासका क्रममा राति करिब ७ः३० बजे उनको शव दहबाट फेला परेको प्रहरीले जनाएको छ।
मृतक आयुशा स्थानीय बुधन सदाकी छोरी हुन्। इलाका प्रहरी कार्यालय बेलटारले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी नगर अस्पताल, बेलटार पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


