उदयपुरमा स्कुल बस दुर्घटना : एकको मृत्यु, ३० जना घाइते
उदयपुर, असार ६ । उदयपुरमा स्कुलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
शनिबार बिहान महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित सडकमा दुर्घटनामा परेको हो।
दुर्घटनामा बर्दिबास नगरपालिका निवासी बिमलेश दत्तको उपचारका क्रममा बिहान ९ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३० जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको न्युरो अस्पताल मा उपचार भइरहेको छ। अन्य २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुर मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसमा सवार अन्य दुई जना भने सकुशल रहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


