भारी वर्षा र पहिरोको जोखिमपछि इलाममा रातिको सवारी सञ्चालनमा रोक
इलाम, असार ६ । मध्य मनसुन प्रणाली सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का द्वारा जारी सूचनाअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।
प्रशासनले मेची राजमार्ग र मेची करिडोर सहित ग्रामीण सडकहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
साथै, काठ तथा गोलिया बोकेका ओभरलोडेड भारी सवारी साधनको आवागमन अर्को सूचना नभएसम्म नियन्त्रण गरिने जनाइएको छ। खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधनले भने सडक र सवारीको क्षमता तथा अवस्थालाई पूर्ण रूपमा पालना गरेर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्थामा स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी आवागमन गर्न सकिने प्रशासनले जनाएको छ।
सडक, पुल तथा राजमार्गमा क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु, सवारी चालक र सवारीधनीलाई यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। साथै सम्भावित विपद् जोखिमप्रति सचेत रहन र आवश्यक सूचना समयमै सम्बन्धित निकायलाई दिन पनि आग्रह गरिएको छ।


