२९६ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ, भाग्न खोज्ने एक जनामाथि प्रहरीद्वारा गोली प्रहार
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा २९६ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका ३९ वर्षीय किशोरीप्रसाद ओझैया रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा ओझैया ब्राउन सुगरसहित भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी टोलीले दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरेको थियो।
घाइते ओझैयालाई तत्काल वीर अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ओझैयासहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।


