विराटनगरमा चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
विराटनगर । विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाएर चिठ्ठा प्रणालीमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ महेन्द्र चोकका ३५ वर्षीय सुवास राई रहेका छन्। उनले ‘OCEAN Digital Solution’ नामक अनाधिकृत संस्था खडा गरी इलेक्ट्रोनिक सामान चिठ्ठामा पर्ने भन्दै सर्वसाधारणसँग रसिद काटेर रकम संकलन गर्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले राईलाई शुक्रबार दिउँसो करिब २ बजे पक्राउ गरेको हो।
उनको साथबाट १५३ थान ग्राहक विवरण भएको प्रिन्ट पाना, १५० थान रसिदको अर्धकट्टी र ४ थान अग्रिम बुकिङ फारम बरामद गरिएको छ। उनलाई हाल थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।


