विराटनगरमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि खुकुरी प्रहार
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बस्दै आएका युवकले छुरा प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन्।
मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुबिण कार्कीलाई काठमाडौंस्थित सुधार गृह पठाउने तयारी भइरहेको अवस्थामा उनले कोठा थुनेर आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो।
सूचनापछि सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। सुधार गृहका कर्मचारी, आफन्त तथा प्रहरीले कार्कीलाई सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका बेला उनले आफू सुत्ने बेडमा लुकाइराखेको धारिलो छुरा एक्कासी निकालेर प्रहार गरेका थिए।
छुरा प्रहारबाट सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथिभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय विराटनगरबाट समेत थप प्रहरी टोली खटिएको छ। घटनाको थप अनुसन्धान तथा आवश्यक समन्वय कार्य भइरहेको प्रहरीले जनाएको छ।


