राम मन्दिर चढावा प्रकरणः ६० किलो चाँदीलगायतमा अनियमितता भएपछि एसआईटीको छानबिन
सञ्जय मिश्रा/रौतहट, असार ७ गते । भारतको अयोध्यास्थित राम मन्दिर मा चढाइएको दान तथा चढावा रकममा अनियमितता भएको आरोपपछि गठन गरिएको विशेष अनुसन्धान टोली (एसआईटी) ले छानबिनलाई तीव्र बनाएको छ।
अनुसन्धानका क्रममा मन्दिर ट्रस्ट तथा व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरूको जिम्मेवारी र कार्यक्षेत्रबारे महत्वपूर्ण विवरण सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एसआईटी स्रोतका अनुसार मन्दिर ट्रस्टका महासचिव चम्पत राय सम्म मन्दिरसँग सम्बन्धित महत्वपूर्ण सूचनाहरू पुग्ने व्यवस्था रहेको थियो। त्यस्तै रामशंकर यादव उर्फ टिन्नु यादव को जिम्मेवारीमा भक्तजनको दर्शन व्यवस्थापनसँगै दान तथा चढावाको निगरानी र व्यवस्थापन रहेको खुलेको छ।
अनुसन्धानका क्रममा मन्दिर परिसरको सरसफाइ तथा अन्य व्यवस्थापकीय कामको जिम्मेवारी गोपाल राय र अनिल मिश्राले सम्हाल्दै आएको तथ्य पनि भेटिएको बताइएको छ। एसआईटीले अहिले यी जिम्मेवारीहरूको आधारमा सम्भावित लापरवाही, कमजोरी वा संलग्नताको कोणबाट अनुसन्धान अघि बढाई रहेको छ।
६० किलो चाँदीका शिला र बहुमूल्य हारको अभिलेख अझै भेटिएको छैन् । छानबिनको क्रममा रामललाको प्राण प्रतिष्ठा अवसरमा मन्दिरलाई प्रदान गरिएका केही बहुमूल्य सामग्रीको अभिलेख फेला नपरेको विषयले अनुसन्धानलाई थप जटिल बनाएको छ।
भारतीय ज्वेलर्स एसोसिएसनले मन्दिरको जगमा राख्नका लागि दान गरेको ६० किलो चाँदीका शिलाको स्पष्ट अभिलेख हालसम्म फेला नपरेको बताइएको छ। एसोसिएसनका पदाधिकारीहरूले भने उक्त सामग्री ट्रस्टलाई हस्तान्तरण गरिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको दाबी गरेका छन्।
त्यसैगरी, उत्तर प्रदेशको जौनपुरस्थित विश्वकर्मा परिवारले रामललालाई अर्पण गरेको बहुमूल्य हारसमेत आधिकारिक अभिलेखमा नरहेको पाइएको छ।दाताहरूले आवश्यक परे एसआईटीसमक्ष बयान दिन तयार रहेको जनाएका छन्।
कर्मचारी र बैंककर्मी पनि अनुसन्धानको घेरामामा परेका छन । एसआईटी स्रोतहरूका अनुसार दान रकम गणना, अभिलेखीकरण र व्यवस्थापन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने जिम्मेवारी निर्वाहमा केही कर्मचारी असफल देखिएका छन्। टिन्नु यादवसहित नगद गणना तथा व्यवस्थापनसँग सम्बन्धित कर्मचारी माथि कारबाहीको तयारी भइरहेको बताइएको छ।
केही बैंककर्मीहरूको भूमिका पनि अनुसन्धानको दायरामा परेको छ। यद्यपि उनीहरूमाथि कारबाही अनुसन्धानकै क्रममा हुन्छ वा प्रतिवेदनपछि गरिन्छ भन्ने विषय अझै स्पष्ट भएको छैन।
हाल मन्दिरमा विभिन्न व्यवस्थापनका लागि करिब ८०० कर्मचारी खटिएका छन्, जसमध्ये करिब २०० जना ट्रस्टद्वारा नियुक्त गरिएको बताइएको छ। एसआईटीले प्राण प्रतिष्ठा पछि भएका नियुक्ति, प्रशासनिक निर्णय र सुरक्षा व्यवस्थाको समेत पुनरावलोकन सुरु गरेको छ।
राम मन्दिर भारतको धार्मिक आस्था र राजनीतिक महत्वसँग जोडिएको संवेदनशील परियोजना भएकाले चढावा व्यवस्थापनमा देखिएको भनिएको अनियमितताको आरोपले व्यापक चर्चा पाएको छ।
हालसम्म अनुसन्धान जारी रहेकाले कसैलाई दोषी ठहर गरिएको अवस्था छैन। तर दान गरिएका बहुमूल्य सामग्रीको अभिलेख नपाइनु र व्यवस्थापन तहका जिम्मेवार व्यक्तिहरू माथि प्रश्न उठ्नुले ट्रस्टको आन्तरिक निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। एसआईटीको अन्तिम प्रतिवेदनले मात्रै वास्तविक अवस्था र जिम्मेवारीको टुंगो लगाउने अपेक्षा गरिएको छ।


