रोल्पामा बस दुर्घटना, १२ जना घाइते
काठमाडौ । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख ३१०१ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उकालो सडकमा गुडिरहेको बसको अचानक ब्रेक फेल भएपछि बस सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला बसमा चालकसहित २९ जना सवार रहेका थिए।
दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालक रोल्पाको थवाङ गाउँपालिका–३ मिरुल निवासी अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन्।
दुर्घटनापछि सडक अवरुद्ध भएको छ भने बस घटनास्थलमै रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


