धनकुटाबाट एक जना सहित कोशीमा लागू औषध बोक्ने ४ जना पक्राउ
विराटनगर, असार ९ । कोशी प्रदेश प्रहरीको लागू औषध विरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट ५ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर, विभिन्न प्रतिबन्धित औषधी ९० चक्की बरामद गरिएको छ ।
चेकजाँचको क्रममा प्रहरी चौकी शरणामती झापाले बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय सन्तोष राजवंशीलाई ५ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोक स्थितबाट धरान उप-महानगरपालिका-१५ का २२ वर्षीय राकेश नेपाली र १९ वर्षीय आशिष विष्टलाई ट्रामोल-५० क्याप्सुल,स्पास्पेन ३० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।


