ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको बजेट ६० करोड ४२ लाख
ताप्लेजुङ, असार १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ४२ लाख ९ हजार ५ सय ४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार मावो लिम्बूले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमध्ये चालुतर्फ ३७ करोड २९ लाख २५ हजार ५ सय ४५ रुपैयाँ तथा पुँजीगततर्फ २३ करोड १२ लाख ८३ हजार ९ सय ९५ रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले ‘हाम्रो सिरिजङ्गा, सबैको गौरव’ भन्ने नारालाई आत्मसात गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। सोहीअनुसार कञ्चनजंघा अल्ट्रा म्याराथन आयोजना गरी कम्तीमा दुई हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।
यस्तै, निर्माणाधीन १० शैयाको अस्पतालको काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ। ज्येष्ठ नागरिक लक्षित ‘सिरिजङ्गा दन्त उपहार कार्यक्रम’ तथा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालन हुँदै आएको निःशुल्क पोस्टमार्टम सेवालाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ।
शिक्षा तथा खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न खेल प्रशिक्षक राख्ने व्यवस्था यथावत् राखिनेछ भने कक्षा ४ देखि ९ सम्मका विद्यालयको वार्षिक परीक्षा गाउँपालिकाकै खर्च र नियमनमा सञ्चालन गरिने व्यवस्था गरिएको छ।


