विराटनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब ३ बजे लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा मोरङको लेटाङ नगरपालिका–३ निवासी २४ वर्षीय हर्कबहादुर तामाङको साथबाट ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न लेटाङ–३ कै ३० वर्षीय मनकुमार मगरलाई समेत नियन्त्रणमा लिइएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


