ईभी हाईस र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते
बांके । बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरा स्थित हुलाकी सडकखण्डमा ईभी हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको ईभी हाईस र सोही दिशातर्फ जाँदै गरेको भे ११ प ५०४३ नम्बरको मोटरसाइकल बीच बाटो क्रस गर्ने क्रममा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल बाँके खजुरा गाउँपालिका–७ बस्ने १८ वर्षीय चाँद बाबु साईले चलाएका थिए।
दुर्घटनापछि हाईस अनियन्त्रित भई क्षति भएको हो। हाईसमा चालकसहित १५ जना सवार थिए भने ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा पठाइएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त हाईस घटनास्थलमै रहेको छ भने सडक दुवैतर्फ सञ्चालनमा रहेको छ।
घाइतेहरू:
१. बर्दिया बढैयाताल–२ का २३ वर्षीय सोमबहादुर थापा क्षेत्री (बायाँ हातमा चोट, अवस्था सामान्य)
२. बर्दिया मधुबन–३ का ३५ वर्षीय रुद्रबहादुर सोमै मगर (टाउको, हात र खुट्टामा चोट)
३. बर्दिया राजापुर–१० की २८ वर्षीया जगमानी चौधरी (निधार र छातीमा भित्री चोट)
४. बर्दिया मधुबन–७ की २४ वर्षीया पुष्पा तामाङ (दाहिने हातमा भित्री चोट)
५. उनका श्रीमान् २२ वर्षीय अजय तामाङ (हात र खुट्टामा चोट)
६. बर्दिया मधुबन–३ की ३२ वर्षीया अस्मिता चौधरी (बायाँ खुट्टामा चोट)
७. बाँके बैजनाथ–४ का २० वर्षीय बिमल सुनार (ढाड र दाहिने खुट्टामा भित्री चोट)


