मोरङको उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्।
बुधबार बिहान घरमै पकाइएको खैरो रङको जंगली च्याउको तरकारी सेवन गरेपछि उनीहरूमा अचानक स्वास्थ्य समस्या देखिएको हो।
बिरामी पर्नेमा ५३ वर्षीया प्रेमकुमारी राई, उनकी ५९ वर्षीया अमाजु दिदी पुनम भुजेल र १४ वर्षीय सिमोन राई रहेका छन्।
स्वास्थ्य समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिएको छ। अस्पतालका अनुसार तीनै जनाको अवस्था हाल सामान्य रहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। चिकित्सकहरूले पहिचान नभएका जंगली च्याउ विषालु हुन सक्ने भएकाले सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।


