मोरङको पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधि सहित चार जना पक्राउ
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित भेटघाट चोकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ।
बिहीबार राति करिब ११ बजे अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरी टोलीले सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–५ का २१ वर्षीय सुरज ऋषिदेव, सोही स्थानका २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका–४ का ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका–२ का २२ वर्षीय सागर गनगाई रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २ हजार १ सय ४० चक्की र डाइसाइक्लोमिन–एचसीएल (Dicyclomine-HCL) २ हजार २ सय ४० चक्की गरी जम्मा ४ हजार ३ सय ८० चक्की बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


