९० किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ स्थित बखरी पुल क्षेत्रबाट प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने फरार रहेका छन्।
प्रहरीका अनुसार बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकलमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलमा रहेका दुई वटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब ९० किलोग्राम गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


