सुनसरीमा ब्राउन सुगर सहित ५ जना पक्राउ, नगद र डिजिटल तराजु बरामद
सुनसरी । सुनसरीको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा नगद रकम र डिजिटल तराजु समेत बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–१७ पकली तथा रामधुनी नगरपालिका–६ सौरना क्षेत्रमा छुट्टाछुट्टै स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पहिलो घटनामा ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङ सुन्दरहरैचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिइएको हो। युवराज बस्नेतको साथबाट ०.६८ ग्राम ब्राउन सुगर फेला परेको र उनीहरूले उक्त लागूऔषध सौकात मियाबाट खरिद गरेको बयान दिएको प्रहरीले जनाएको छ। सोही आधारमा सौकात मियालाई समेत नियन्त्रणमा लिइएको छ।
त्यस्तै, इटहरी–१७ स्थित स्टार लाइट खाजा घरमा गरिएको चेकजाँचका क्रममा होटल सञ्चालक साहीदुल मियाको साथबाट ०.९६ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
अर्को घटनामा रामधुनी नगरपालिका–६ सौरनाबाट ४८ वर्षीय विजय राजधामीलाई पक्राउ गरिएको छ। उनको साथबाट ६२.९३ ग्राम ब्राउन सुगर, नगद रु. ६३,८२० र २ थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
समग्रमा उक्त घटनामा जम्मा ६४.५७ ग्राम ब्राउन सुगर बरामद गरिएको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


