दुई दिन देखि हराएका १० वर्षीय बालक सामुदायिक वनमा मृत फेला
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार चनोज असार १० गते साँझ करिब ५ बजे घरबाट एक्कासी हराएका थिए। बालक सम्पर्कविहीन भएपछि परिवारले असार ११ गते प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।
असार १२ गते दिउँसो करिब ३ बजे संयुक्त प्रहरी टोली र आफन्तले खोजी गर्ने क्रममा धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा बालकको शव फेला पारेका हुन्।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


