सुनसरीमा ब्राउन सुगर सहित एक जना पक्राउ
सुनसरी । लागू औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोड क्षेत्रमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इटहरी उपमहानगरपालिका–१७ बस्ने २५ वर्षीय निशान कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १.२९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषधसहित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


