पिकअप दुर्घटना : चालकको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घाराखोल्सास्थित कुलेखानी–दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ६ः३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक थाहा नगरपालिका–९ चित्लाङ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने ४५ वर्षीय मुकुन्द झ्यारी मगरलाई उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएको थियो। उपचारकै क्रममा बिहान करिब ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


