तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
रुपन्देही, तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
आज बिहान करिब ८:३० बजे आएको बाढीका कारण खोलाबाट दाउरा निकाल्न गएका गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर वि.क. खोलाको बाढीमा फसेका थिए।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोली परिचालित भएको थियो। टोलीले उनलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।


