इलाममा चट्याङ लागेर ८८ वर्षीय वृद्धको मृत्यु
इलाम, रोङ । इलामको रोङ गाउँपालिका–६ सलकपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति वर्षासँगै परेको चट्याङ घरको बरन्डामा पर्दा ८८ वर्षीय कालुवीर मोक्तान गम्भीर घाइते भएका थिए। चट्याङ लाग्दा उनको टाउको र पेट जलेको अवस्थामा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङका कारण घरको विद्युत् मिटर बक्स समेत जलेको प्रहरीले बताएको छ।
घटना आइतबार बिहान मात्र नातिले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।


