चिकित्सकहरू माथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
जुम्ला, असार १४ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार चन्दननाथ नगरपालिका–३ निवासी करिब ३० वर्षीय लव बहादुर सेजुवालले मिति २०८३ असार १० गते दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरी प्रतिष्ठानको आकस्मिक कक्षभित्र प्रवेश गरी हो–हल्ला गर्दै चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए।
उक्त घटनापछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, उनी यसअघि पनि प्रतिष्ठानभित्र अनाधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
घटनासम्बन्धमा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम मिति २०८३ असार ११ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


