वीपी प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल पठाउने आरोपमा दुई बिचौलिया पक्राउ
सुनसरी । सुनसरी प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई आर्थिक चलखेल गरी विभिन्न निजी अस्पतालमा पठाउने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालमा पठाई अवैध कमिसन लिने गरेको भन्ने जनगुनासो र सूचनाका आधारमा असार २२ गते राति करिब ९ बजे प्रतिष्ठानको आकस्मिक सेवा भवन अगाडिबाट झापाको दमक नगरपालिका–१ का ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय धरानमार्फत थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्युरो अस्पतालका दुई थान भ्रमण परिचयपत्र फेला परेका छन्। साथै उनीहरूको मोबाइल फोनमा विभिन्न सरकारी अस्पतालका बिरामीको उपचार पुर्जा, अस्पतालबाट दिइएको बिदाइ कागजातका तस्बिर, बिरामीको नाम, उमेर र रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएको सामग्री तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका तस्बिरहरू समेत फेला परेको प्रहरीले जनाएको छ।


