सुनसरीमा चाइनिज पेस्तोल र गोली सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २४ गते राति करिब १:२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती निवासी अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोक चोक निवासी ३२ वर्षीय इम्रान खानलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


