वीपी प्रतिष्ठान अगाडिबाट बिरामीलाई प्रलोभनमा पार्ने १० बिचौलिया पक्राउ
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरिरहेको आरोपमा १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्राप्त सूचनाका आधारमा असार २३ गते धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। कारबाहीमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाको टोली परिचालन गरिएको थियो।
पक्राउ पर्नेहरूमा सप्तरीका रन्जित कुमार चौधरी र रबिना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, धरानका सागर पोखरेल, मनिष बुढाथोकी, धिरोज निरौला र बिनोद भट्टराई, मोरङका सान्बिन किराती, उदयपुरका उमेश कुमार चौधरी तथा इनरुवाका रोहित मेहता रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


