उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
बुधबार बिहान करिब १०ः३० बजे रामपुर नगर अस्पताल नजिक विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा मिलन राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। उनी नेपाल विद्युत प्राधिकरणको रामपुर वितरण केन्द्रमा कार्यरत ४० वर्षीय कर्मचारी थिए।
करेन्ट लागेपछि उनी करिब चार मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल रामपुर नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो।
अस्पतालमा उपचारकै क्रममा दिउँसो १२ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्साबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


