विराटनगरमा गाँजा नियन्त्रणमा लिन खोज्दा मोटरसाइकल छाडेर भागेका युवक पोखरीमा बेपत्ता
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर एक युवक बेपत्ता भएका छन्। गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका विराटनगर–१८ का मञ्जितकुमार यादव प्रहरीबाट बच्न भाग्ने क्रममा पोखरीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँचका लागि रोक्न खोजेको थियो। त्यस क्रममा चालक मञ्जितकुमार यादव मोटरसाइकल छाडेर भागेका थिए। भाग्दै जाँदा उनी नजिकै रहेको पोखरीमा प्रवेश गरेका र त्यसपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।
डीएसपी श्रेष्ठका अनुसार प्रहरीले उनलाई पोखरीमा डुबेको प्रत्यक्ष रूपमा नदेखे पनि स्थानीय बासिन्दाले डुबेको जानकारी दिएपछि खोजी कार्य तीव्र पारिएको हो। बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
उक्त मोटरसाइकलमा पछाडि सवार रहेका भारतीय नागरिकलाई भने प्रहरीले गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादव रहेका छन्। उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, मोटरसाइकल तथा पक्राउ परेका शिवधर यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ। बेपत्ता मञ्जितकुमार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


