भन्सार छलीका १७ लाख ६३ हजार रुपैयाँभन्दा बढीका सामानसहित मिनी ट्रक र दुई जना नियन्त्रणमा
बर्दिया, असार २४ । बर्दियामा प्रहरीले करिब १७ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामानसहित एक मिनी ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
मधुवन नगरपालिका–४ स्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ क १९९१ नम्बरको मिनी ट्रकबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न फेन्सी कपडा तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिनी ट्रक चालक कैलालीको घोडाघोडी नगरपालिका–११, पहलमानपुर निवासी ४४ वर्षीय चुनुराम चौधरी र सोही ट्रकमा रहेका टिकापुर नगरपालिका–१, बगरैयागाउँ निवासी ३० वर्षीय अजय चौधरीलाई नियन्त्रणमा लिइएको छ।
बरामद सामान तथा मिनी ट्रकको अनुमानित कुल मूल्य ३२ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान, मिनी ट्रक र नियन्त्रणमा रहेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरिया पठाइएको छ।
बरामद सामानमा प्लास्टिक रेनकोट (सिंगल) ४९१ थान, खादा १०० थान, प्लास्टिक रेनकोट (डबल) ४४७ थान, बालबालिकाका लागि प्लास्टिक रेनकोट (डबल) १९४ थान, स्पोर्ट्स हाफ पाइन्ट ३३८ थान, अन्डरवेयर (कट्टु) १,१७० थान, साना छाता १५८ थान, टी–सर्ट २,३०९ थान, जिन्स तथा कटन हाफ पाइन्ट ४५८ थान, फुल जिन्स तथा कटन पाइन्ट ४४४ थान, विन्डचिटर ४३ थान, ट्राउजर ३३१ थान, कालो बेल्ट १३२ थान, लक बेल्ट ४० थान, टावल २९ थान, हेड छाता ५३ थान र क्याप टोपी ३३७ थान रहेका छन्।


